झापा, चैत १०
झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर १० लाई खुला दिशामुक्त वडा घोषणा गरेको छ । यही चैत २२ गते झापालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर १० लाई खुल्ला दिशामुक्त वडा घोषणा गरेका हुन् ।
साविक चन्द्रगढी गाविस १, २, ६ र ७ हाल भद्रपुर वडा नम्बर १० मा १ हजार ९ सय ९ घरधुरी रहेका छन् । ७ हजार ६ सय ७१ जनसंख्या रहेको यस वडामा जातिय र भाषागत रुपमा मिश्रित बसोबास रहेको छ ।
त्यसमध्ये २०७४ साल असार १ गतेको तथ्यांक अनुसार १ सय ४४ घरधुरी शौचालय विहिन रहेका थिए । विपन्न, असहाय तथा अशक्त परिवार रहेका ५३ घरधुरीलाई वडा कार्यालयको पहलमा विभिन्न संघसंस्थाले शौचालय निर्माण गरेपछि खुल्ला दिशामुक्त वडा घोषणा गर्ने सफल भएको नगरका अभियानकर्ता फणिन्द्र दाहालले जानकारी दिए ।