१० चैत्र, सिमकोट ।
हुम्लामा ५० बेडको क्वारेनटाइन स्थापना गरिने भएको छ ।
सम्भावित कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला सदरमुकाम सिमकोटमा ५० बेडको क्वारेनटाइन स्थापनाका लागि काम अघि बढाइएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।
क्वारेनटाइनका लागि आवश्यक खाट, बेडसेट, उपकरण, औषधी र अन्य सामानको व्वस्थापनको काम भइरहेको उनले बताइन् । क्वारेनटाइनका लागि आवश्यक घरको खोजी पनि सुरु भएको छ ।
बैठकले हरेक गाउँपालिकामा पनि क्वारेनटाइनको स्थापना गर्नु पर्ने निर्णय गरेको छ । चीनसँग सिमाना जोडिएका ताँजाकोट र चंखेली गाउँपालिकाका सिमा नाकामा चिकित्सकसहितको हेल्थ डेस्क स्थापनाका लागि कर्णाली प्रदेश सरकारको सामाजिक मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारी र शिक्षकहरुलाई कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउन खटाउने, सबै कार्यालयहरुले सरसफाई गर्ने, प्रवेशद्वारमा सेनिटाईजर वा साबुन पानीको व्यवस्था गर्नु पर्ने, होटेल, लजमा ज्वरो नाप्ने उपकरणको व्यवस्थापन गर्न निर्देशन दिने निर्णय पनि भएको प्रजिअ भट्टराइले बताइन् ।