१७ चैत, काठमाडौँ । लकडाउनको एक सातामा उल्लंघन गर्ने ६ हजार ५ सय ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सातवटै प्रदेश र उपत्यकाबाट उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । यो अवधिमा लकडाउन उल्लंघन गर्ने १० हजार ९ सय ९५ वटा सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए ।
महानगरीय ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले राजधानीमा लकडाउन उल्लंघन गर्नेक्रम नरोकिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर कोरोनासम्बन्धी सचेतना कक्षा दिएर छाड्ने गरिएको उनले बताए ।
लकडाउन उल्लंघन नरोकिएपछि केही दिनअघिबाट प्रहरी र ट्राफिकले उल्लंघनकर्तालाई नियन्त्रणमा लिन सडकमै डोरीको हिरासतकक्ष निर्माणदेखि ५ फिट परैबाट मान्छे समाउन मिल्ने सनासोको प्रयोग गर्न थालिएको छ ।
सडकमै कानुन उल्लंघन गर्दाको अनुभूति दिलाउन डोरी र सनासो प्रयोग गर्नुपरेको उनले बताए । अबदेखि लकडाउन उल्लंघन गर्ने चालकलाई सवारीसहित नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए ।