२१ चैत, विराटनगर ।
प्रदेश १ को विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा निमार्ण गरिएको कोरोना विशेष अस्थायी अस्पतालको शुक्रबार शुभारम्भ गरिएको छ । ५० शैयाको कोरोना अस्थायी अस्पताल अब पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।
प्रदेश मन्त्रिपरिषदको चैत्र ७ गते बसेको बैठकले सो ठाउँमा अस्पताल निमार्ण गर्ने निर्णय गरेको थियो । ८ गतेदेखि निर्माण थालिएको अस्पताल शुक्रबार तयार भएको हो ।
सो अस्पताल एक साताभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि मुलुकभर लागू भएको लकडाउनका कारण उत्पन्न प्राविधिक कठिनाईका कारण केही ढिला सम्पन्न भएको मुख्यमन्त्री शेरधन राईले बताए । अस्पतालको निरीक्षण पश्चात कोरोना संक्रमितको उपचारका लागि सम्पूर्ण सेवाहरु प्रदान गरिने उनले बताए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमितको उपचार गर्दै निधान केन्द्रको रुपमा सञ्चालन भएको अस्पतालमा १० बेडको भेन्टिलेटर जडान गरिएको बताए । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको र अक्सिजन पाईपलाईन जडान लगायतका सम्पूर्ण प्राविधिक कार्यहरु सम्पन्न भएको उनले बताए । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाको यथोचित प्रवन्ध, स्वास्थ्य वीमा, अतिरिक्त भत्ताको प्रबन्ध गरेको समेत उनले बताए ।
भविष्यमा पनि यस अस्पतालबाट स्वास्थ्य सेवामा निरन्तरताको प्रवन्ध गरिने मन्त्री घिमिरेले बताए । उनले कोरोनाको उपचारपछि अन्य स्वास्थ्य सेवा वा शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न सकिने समेत बताएका छन् । यस अस्पतालमा अन्यन्त्रबाट रेफर आएकाहरु सहित सबै कोरोना संक्रमितको उपचारात्मक सेवा सञ्चालन गरिनेछ । अस्पतालको सम्पूर्ण व्यवस्थापन कोशी अस्पताल विराटनगरले गर्ने भएकाले अस्पतालको नाम पनि कोशी अस्पताल नै राखिएको छ ।