२५ चैत, काठमाडौँ ।
गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताएका हुन् ।
शनिबार यता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबार सम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परिक्षण भएको प्रवक्ता देवकोटाले बताए । जसमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचार पछि घर फर्किसकेका छन् ।
प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत बताए । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उनले बताए । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, ¥यापीड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण शुरु गरिएको समेत उनले बताए । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उनले बताए ।
काठमाडौं उपत्यका भित्र १६ जना र काठमाडौं बाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताए । यस्तै रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उनले बताए । यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उनले बताए ।
विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड १९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उनले बताए । निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर आ–आफ्नो तह अनुसार सुविधा दिने निर्णय गरे अनुसार काम अगाडि बढाइएको समेत उनले बताए ।