२५ चैत, काठमाडौं ।
कोरोना संकटसँग जुध्न विश्व बैङ्कले नेपाल सरकारलाई २९ मिलियन डलर (करिब ३ अर्ब ४८ करोड रूपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ । विश्व बैङ्कले कोभिड–१९ आपतकालीन, महामारी पूर्वतयारी तथा योजनाअन्तर्गत उक्त रकम बराबरको ऋण सरकारलाई दिएको हो ।
ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा मंगलबार विश्व बैङ्क र अर्थमन्त्रालयबीच द्विपक्षीय सम्झौता भएको छ । यो ऋण द्रूत प्रक्रियाबाट सरकारले प्राप्त गर्नेछ ।सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैङ्कका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै ऋण सहायता कार्यान्वयनमा समेत आएको विश्व बैङ्कले जनाएको छ । यसअघि १६ चैतको मन्त्रिपरिषद् बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । यस परियोजनाअन्तर्गत प्राप्त रकम कोरोना भाइरसविरुद्ध नेपालको क्षमता अभिवृद्धिमा प्रयोग हुने विश्व बैङ्कले जनाएको छ ।