२६ चैत, बिराटनगर ।
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् ।
बिराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउँन रकम प्रदान गरेको डा.शर्माले बताए ।
डा.शर्माले यसअघि पनि गरिब, बिपन्न र उपचार नपाएका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेललाई कोरोना उपचार केन्द्र बनाउँन दिने घोषणा गरेर डा.शर्माले सरकारलाई लिखित पत्रसमेत पठाएका छन् ।
उनले कोरोनाको संभावित महामारीबाट बच्न सर्वदलिय संयन्त्र निर्माण गर्नुपर्ने र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।