२६ चैत, काठमाडौँ ।
नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा विक्री सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको औषधि लिमिटेडले चैत २ गतेदेखि स्यानिटाइजर उत्पादन सुरु गरेको हो ।लिमिटेडले यही आइतबारबाट विक्री सुरु गरेको छ ।
लिमिटेडले एकसय मीलीलिटरको बोतलमा स्यानिटाइजर उत्पादन गर्न थालेको नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले जानकारी दिए । १ सय मिलिलिटरको बोतलको बजार मूल्य एक सय ७५ रुपैयाँ रहेको छ। यसको होलसेल मुल्य १५० रुपैयाँ रहेको छ।
त्यसका साथै सर्वसाधारणले किन्न चाहेमा ग्यालिन वा भाडामा पनि उपलब्ध गराइराखेको पनि उनले बताए । खुल्ला रुपमा लान चाहनेले प्रतिलिटर १२५० मा किन्न सक्नेछन्। सर्वसाधारणरुले पनि होलसेलमा किन्न पाउनेछन्।ठूलो परिमाणमा चाहिने ग्राहकले बबरमहलस्थित लिमिटेडको कम्पनीमा गएर किन्न सक्नेछन्।
लिमिटेडको दैनिक उत्पादन क्षमता २० हजार रहेको छ। तर, विविध समस्याका कारण हाल दैनिक ५ देखि ६ हजार बोतल स्यानिटाइजर मात्रै उत्पादन भइरहेका छन्।
औषधी ब्यबस्था विभागको स्वीकृती लिएर थालिएको सो उत्पादन विश्व स्वास्थ्य संगठनको मापदण्ड र फर्मुला अनुसारनै भएको महाप्रबन्धक बज्राचार्यले दाबी गरे। कोरोना भाइरसको महामारीका बेला बजारमा स्यानिटाइजर अभाव हुन नदिन उत्पादन सुरु गरिएको उनले बताए ।
स्यानिटाइजरका लागि चाहिने कच्चा पदार्थहरु वीरगन्जको चिनी उद्योगबाट ल्याइएको हो। लिमिटेडमा कम्पनीमा स्यानिटाइजर उत्पादनमा ३० जना कर्मचारी खटिरहेका छन्।