१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई आइतबार राति घर पठाइएको छ ।
भारतका विभिन्न सहरबाट घर फर्केर झन्डै डेढ सातादेखि क्वारेन्टाइन बसेकाहरुको स्वायव परीक्षण गर्दा नेभेटिभ आएपछि घर फर्काइएको हो । यसअघि जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ८० जनालाई परीक्षण पछि घर फर्काइएको थियो ।
गुजरा नगरपालिकाको २५ र चन्द्रपुरका ७ जना गरी ३२ जनालाई घर फर्काइएको हो। चैत १२ गते देखि सञ्चालनमा रहेको क्वारेन्टाइनमा ५८ जना राखिएको थियो। तीमध्ये ५० जना चैत्र २६ स्वाब परीक्षण गर्न पठाइएकोमा ४६ जनाको नेगेटिभ आए पनि दुई साता बढी बसेका ३२ जनालाई मात्रै घर पठाइएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेतनाथ बरालले बताए ।
स्वाब टेस्टका लागि पठाइएकामध्ये ३ जनाको रिपोर्ट आउन बाँकी रहेको र एकजनाको पुनः स्वाब पठाउनु पर्ने भएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए । उक्त क्वारेन्टाइनमा चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाइ नगरपालिकाका मानिसलाई राखिएको थियो। उनीहरुलाई छाड्ने बेला संघीय सांसद देवप्रसाद तिमल्सिना र गुजरा नगरपालिकाका उपमेयर रौशना खातुन क्वारेन्टाइन पुगेका थिए ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आहृवान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरमा रोजगारीका लागि गएकाहरु फर्के पछि जिल्लाको विभिन्न २६ स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ८ सय ३६ वेडको क्वारेन्टाइनमा अहिले २ सय ३९ जनालाई राखिएको छ ।