१ वैशाख, लहान ।
वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश २ सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ।
सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप सुरक्षाकर्मी मागेको छ। प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दक्षिणवर्ती सीमा सिल गर्न संघीय सरकारसँग एक हजार थप सुरक्षाकर्मी माग गरिएको बताए।
सुरक्षाकर्मी थपिनिबितिकै सीमा पूर्ण रुपमा सिल गर्छौं,’ प्रदेश २ सरकारका प्रवत्तासमेत रहेका मन्त्री यादवले भने, मुख्य चौनौती नै सीमाबाट लुकिछिपी हुने आउजाउ हो। यसलाई नरोकेसम्म कोरोना जोखिम कम हुँदैन।’
प्रदेश २ मा कोरोना संक्रमण नियन्त्रण गर्न विशेष परिस्थिति घोषणा गरी छोटो प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने जानकारी दिँदै उनले भने, ‘भेन्टिलेटरदेखि पिपिईलगायत सामग्री सबै व्यवस्था हुन्छ। हामी परीक्षण र उपचार व्यवस्थालाई व्यापक बनाउन लागिपरेका छौं।