२ वैशाख, काठमाडौँ । अहिले नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्न समस्या उत्पन्न भएको छ ।
नेपाली सेना र नेपाल प्रहरीको टोली संक्रमित तीनै जनाको यात्रा इतिहास (ट्राभल हिस्ट्री) खोज्न कन्ट्रयाक्ट ट्रेसिङमा जुटेका थिए । तर उनीहरूले सुरक्षाकर्मीलाई आफूहरूले मोबाइल नै प्रयोग नगर्ने बताएपछि ट्राभल हिस्ट्री यकिन गर्न समस्या भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार १४ जनाको समूहमा नेपाल छिरेका उनीहरू सुनसरीको दुहबी, सदरमुकाम इनरुवा हुँदै सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ मा भएको मुस्लिम सम्मेलनमा सहभागी भएका थिए । दुहबी र इनरुवामा करिब डेढ महिना बसेपछि जाजर पुगेका उनीहरू त्यसपछि रौतहट हुँदै पर्सा गएका थिए । वीरगन्जको मस्जिदमा चैत १३ मा पुगेका उनीहरू त्यसअघि पर्साकै अन्य तीनवटा मस्जिदमा बसेका थिए । तर यसबारे उनीहरूले यकिन विवरण अझै उपलब्ध गराएका छैनन् ।
उनीहरूको रासन कार्ड भने प्रहरीले फेला पारेको छ । त्यसकै आधारमा उनीहरू कुन–कुन ठाउँ गए भन्नेबारे भारत सरकारसँग समन्वय गरेर विवरण संकलन गर्नुपर्ने निष्कर्षमा पर्साका सुरक्षाकर्मी पुगेका छन् । यसबारे प्रदेश प्रहरी हुँदै प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकिएको स्रोतले बतायो ।
यसैविच, संक्रमित तीन जना बसेकै मस्जिदमा ओहोरदोहोर गर्ने १० जना नेपालीलाई सोमबार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । पर्सा प्रहरीका डीएसपी वीरेन्द्र शाहीले उनीहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको पुष्टि गरे ।