५ बैशाख, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिले शुक्रबार प्रदेशमा ¥यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, विरामी र संक्रमण भएका व्यक्तिहरुको स्थिति लगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिले सम्म भएका क्रियाकलापहरुको विषयमा प्रदेश सरकारहरुसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल भएको बताए । छलफलमा मन्त्रीहरुले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेको उनले बताए । उनले प्रदेश १ देखि सूदुरपश्चिम प्रदेशसम्म सात वटै प्रदेशको स्थितिको बारेमा समिक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरुको उद्धारको विषयमा समेत मन्त्रीहरुले ब्रिफिङ गरेको बताए ।
सचिव विडारीले बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृत्ति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरु, स्वास्थ्यकर्मीहरुलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको बताए । यस्तै सामग्रीहरुको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए । उनले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शुन्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई तिब्रता दिने विषयमा समेत छलफल भएको बताए ।