७ वैशाख, काठमाडौँ ।
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बोल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्रो भएको बताए । उनले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि कोरोना संक्रमणबारे सजग बनाउने बताए ।
दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नरहेको देखिएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको डा.जोशीले बताए ।घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गरिएको उनले बताए ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।
नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म चार जना उपचारबाट निको भई घर फर्किएका छन् ।