९ वैशाख, लमजुङ ।
कोरोना सन्त्रासका कारण हिमाली जिल्ला मनाङमा यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरोकारवालाहरू यार्सा संकलन रोक्न सहमत भएका हुन् । मनाङका सबै भेगमा यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको यो पहिलो घटना रहेको सांसद पोल्देन छोपाङ गुरुङले जानकारी दिए । यार्सा टिप्न सयौंको हुल हुन्छ । यसले कोरोना संक्रमण फैलिने खतरा हुन्छ ।
त्यसैले यस वर्ष टिप्न नदिने निर्णय गर्यौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार शनिबार सांसद गुरुङको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, गाउँपालिकाका अध्यक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुखलगायत सम्मिलित बैठकले यार्सा टिप्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यार्सागुम्बा संकलनको बेला मनाङको लेकमा ५,७ हजार जम्मा हुन्छन् । कतैबाट संक्रमण भेटिए बर्बाद बनाउँछ,’ उनले भने । प्रतिबन्ध लगाए पनि चोरीनिकासी हुन सक्ने भन्दै प्रहरी, जनप्रतिनिधि र एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीले संकलन क्षेत्रमा स्थलगत निगरानी गर्ने भएका छन् ।
चोरी–पैठारी भए प्रतिबन्धको कुनै अर्थ रहादैन । हामी यार्सागुम्बा टिप्ने ठाउँको विशेष निगरानी गर्छौं,’ एक्यापका संरक्षण अधिकृत बाबुलाल तिरुवाले भने । मनाङमा यार्सा टिप्न जिल्लाबासी मात्रै नभई टाढा–टाढा मानिस आउने गर्छन् ।
यार्सागुम्बा खोज्ने क्रममा नारको लेकमा स्थानीयले गोरखा केरौंजाका ७ जनाको हत्या गरेपछि नागरिकता अनिवार्य गरी परिचयपत्र वितरण गरिँदै आएको थियो । मनाङमा साबिक १३ गाविसमध्ये नासों गाउँपालिकामा पर्ने साविक थोंचे र धारापानी गाविसबाहेक सबै लेकमा यार्सा पाइन्छ । एक्यापको व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पुर्जी दिने गर्छ ।