९ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनमा बसेका तिन युवा मंगलबार बिहान भागेका छन् ।
नगरप्रहरीलाई छक्याउँदै ति युवा एकाएक भागेपछि वडाबासी र जनप्रतिनिधि माझ त्रास सिर्जना भएको छ । कावासोती १ का वडाध्यक्ष नारायण पन्तका अनुसार सोमबार भारतबाट आएका स्थानीय एक युवा र उनीसंगै घुलमिल भएका साथीसहित तिन जनालाई बेलुका क्वारेन्टाईनमा पठाईएको थियो ।
भारतबाट आउने युवा गांजाको अम्मली रहेको र अन्य दुई साथी पनि लागु पदार्थसेवी पाईएपछि सम्वन्धित पारिवारिकै सल्लाहमा उनीहरुलाई क्वारेन्टाईनमा राखिएको पन्तले बताए ।
क्वारेन्टाईनबाट फरार युवाहरुको अहिले नगर तथा जनपद प्रहरी र वडा प्रतिनिधीको सक्रियतामा खोजी कार्य भई रहेको कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्द्नियाले बताए ।
कावासोती नगरपालिकामा क्वारेन्टाईनमा राखिएका २० जना मध्ये ९ जना यस अघि निर्धा्रित समय गुजारेर घर फर्किसकेका छन् ।
बाँकी ११ जना क्वारेन्टाईनमा बस्दै आएको नगरपालिका का स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । तिनै ११ जना मध्ये ३ युवा क्वारेन्टाईनबाट भागेका हुन् । बांकी मानिस भने नगरको १ र १७ नम्वर वडाका क्वारेन्टाईनमा बस्दै आएका छन् ।