Nepal Times
Nepal Times
3
Shares

वडाध्यक्ष कार्यालयमै मदिरा पिएर लठ्ठ भएपछी…..

वडाध्यक्ष कार्यालयमै मदिरा पिएर लठ्ठ भएपछी…..

झापा, चैत १५
वडा अध्यक्ष जस्तो जनताबाट निर्वार्चीत जनप्रतिनिधि कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भएपछी के होला ? हो यस्तै भएको छ मेचीनगर नगरपालिका–२ मा । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने मदिरा सेवन गरेकै कारण प्रहरीबाट समातिएका छन् ।

 

पटकपटक मादक पदार्थ सेवन गरेर कार्यालय जाने गर्न थालेपछि उनलाई स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगिएको थियो ।

प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो । बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्की समेत काम विशेषले वडा कार्यालय आएकी थिइन् । उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए ।

नमातेको बेला शालीन र सरल लाग्ने वडाध्यक्ष न्यौपानेले मदिरा पिएर लठ्ठ भएपछि जसलाई भेट्यो उसलाई तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासी बताउँछन् ।

नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए । वडाध्यक्ष न्यौपानेले वडा कार्यालयका कर्मचारी र सेवाग्राहीहरुलाई समेत मातेको सुरमा दुर्व्यवहार गरेर लज्जित तुल्याउँदै आएको आरोप छ ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले वडाध्यक्ष पक्राउ गरिएको बारेमा नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई जानकारी गराएको थियो ।

इप्रकाले साँझ वडाध्यक्ष न्यौपानेलाई छाडिदिएको छ । अर्का वडाध्यक्ष ललित तामाङ, एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई अबदेखी कार्यालयमा मदिरा सेवन नगर्ने शर्तमा छाडेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.