विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पूरा, पुनर्निर्माण र पुनःस्थापनाका काम सक्न अझै समय लाग्ने

११ बैशाख ७७, शुक्रबार

१२ बैशाख, विराटनगर । आज बैशाख १२ गते । भूकम्प स्मृति दिवस । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुरा भयो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यही विनाशकारी भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो भने करिव २२ हजार जना घाइते भएका थिए ।

विनाशकारी भूकम्पबाट भौतिक संरचनामा अत्यन्त क्षति पुग्यो । भूकम्पबाट क्षति भएका घर, विद्यालय, सम्पदा, सार्वजनिक भवन, स्वास्थ्य संस्थालगायतका पुनर्निर्माणको काम अहिले पनि भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएका छन् । लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका र एक लाख ९० हजार घर बन्ने क्रममा छन् । बन्न बाँकी घरको पनि यसै आर्थिक वर्ष्भित्रमा काम सक्ने लक्ष्य छ ।

Advertisement

करिव ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै रहेको छ । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् ।

क्षतिग्रस्त ९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।

Advertisement

पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला देखा परेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको असर, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् । नेपालले पुनर्निर्माण र पुनःस्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको ज्ञवालीले दाबी गरे । नेपाली नागरिकमा विपद्को प्रतिरोधी क्षमता छ र कठिन अवस्थाका बीच पनि व्यवस्थापन गर्न सक्छन् भन्ने छवि बनेको उनको भनाइ छ ।

कोरोना भाइरसको यो महामारीबाट बाहिर निस्कने बित्तिकै बाँकी कामलाई पनि टुङ्गोमा पुर्‍याउन लागिपर्ने कार्यकारी अधिकृत ज्ञवालीले बताए । प्राधिकरणको पाँच वर्षे अवधि आउँदो पुषमा सकिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top