लकडाउनको असरः खेतभरी केरा, बिक्रीमा समस्या

१५ बैशाख ७७, सोमबार

१५ वैशाख, बर्दिया ।
गुलरिया नगरपालिकाका मुकुन्द सुवेदीले १९ बिघा क्षेत्रफलमा ६० हजार केराखेती गरेका छन् ।

Advertisement

गत वर्ष केराबाट राम्रो आम्दानी गरेका सुवेदीको यस वर्ष लकडाउनका कारण बिक्री गर्न समस्या भएको छ । गत आर्थिक वर्षमा रु २६ लाख बराबरको केरा बिक्री गरेका सुवेदीले यस वर्ष रु १० लाखको मात्रै बिक्री गरिएको बताए ।

सुवेदीले जिल्ला कृषि विकास कार्यालय बर्दियाबाट रु १५ हजार केराको बिरुवा अनुदान पाएपछि जग्गा भाडामा लिएर तीन वर्षअघिदेखि केरा खेती शुरुआत गरिएको बताए । ‘बर्दिया केराको लागि उर्वर भूमि हो । अहिले लकडाउनका कारण बिक्री गर्न नपाउँदा बारीमै सड्न लागेको छ ।’

Advertisement

कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएपछि केराले बजार नपाउँदा ठूलो घाटा व्यहोर्नुपरेको अर्का किसान यज्ञ हमालले गुनासो गरे । ‘एउटा बोटबाट निस्केको एक घरी केरामा दुई सयदेखि तीन सय कोसासम्म केरा फल्छ, ठूलो कोसा भएको केरा एक दर्जनको रु एक सयमा बिक्री हुन्छ ।’

डेढ बिघा जग्गामा केरा खेती गर्यो भने बिरुवा रोपिएको १८ महिनामा रु तीन लाख ५० हजारसम्म आम्दानी हुने हमालले बताए ।  केराबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले स्थानीय एवम् हाइब्रिड जातका केरा लगाएका थिए ।

Advertisement

कृषि ज्ञान केन्द्र बाँकेले एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरेपछि यहाँका किसान झनै केरा खेतीतर्फ आकर्षित भएका हुन् । यो कार्यक्रमअन्तर्गत तीन वर्षअघि किसानलाई ५० प्रतिशत अनुदान दिइएको थियो ।

लगानीमा साझेदारी र उत्पादनमा एकल स्वामित्व भएपछि आफू केरा खेतीतर्फ उन्मुख भएको किसान शम्भु उपाध्यायले बताए । एक बिघा जग्गामा दुई सयदेखि तीन सयसम्म बिरुवा रोप्न सकिने र त्यसबाट एक सय क्विन्टल केरा उत्पादन हुने उनको भनाइ छ ।

सिँचाइको राम्रो व्यवस्था भएका कारण राजापुर, बारबर्दिया, मधुवन, गुलरियालगायत यहाँका आठै स्थानीय तहमा केरा खेती फस्टाएको छ । उत्पादित केरा नेपालगञ्ज, बुटवल, काठमाडौँलगायत मुख्य बजारसम्म बिक्रीका लागि लैजाने गरिए पनि लकडाउनका कारण केरा बारीमै रहेको गुनासो उपाध्यायले गरे ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top