१५ बैशाख, काठमाडौँ ।
ठमेल क्षेत्रमा मेन्ज फाउण्डेशले लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाइरहेको छ । फाउण्डेशनले लक डाउनको भोलिपल्टबाट नै ठमेल क्षेत्रमा अफ्ठ्यारोमा परेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई निःशुल्क खाना खुवाईरहेको हो ।
फाउण्डेशनले प्रतिदिन २ सय जनालाई खानामा विरयानी खुवाइरहेको छ । हरेक दिन विहान खानामा विरयानीसँगै फाउण्डेशनले मास्क पनि वितरण गरिरहेको छ । सुरुको दिन ५०, ६० जनालाई खाना बाँडेको फाउण्डेशनले अहिले २ सय जना लाई निःशुल्क खाना र मास्क वितरण गरिरहेको फाउण्डेशनका अध्यक्ष मिन्हाज खानले बताए ।
अध्यक्ष खानले प्रतिदिन १० हजार बराबरको खाना र मास्क वितरण गरिरहेको बताए । केही साथीहरुको सहयोग प्राप्त भएपनि आवश्यक अन्य रकम फाउण्डेशनबाटै व्यवस्थापन भइरहेको उनले बताए । फाउण्डेशनले अहिलेसम्म विभिन्न अस्पताल र संघसंस्थाहरुलाई करिब ७ सय पिपिइ पनि वितरण गरेको उनले बताए ।
फाउण्डेशनले एक महिनाभन्दा बढि समयदेखि निःशुल्क खाना दिए पनि लक डाउनका कारण नियमित काममा फर्किने वातावरण नभएको गुनासो स्थानीयले गरेका छन् । सरकारले दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि केहीगर्न नसकेको आरोप स्थानीयको छ ।
सरकारले लक डाउनको समय वैशाख २५ सम्मका लागि थपेको छ । यसअघि पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउन घोषणा गरिएको थियो । लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई समस्या भएको छ ।