२० बैशाख, विराटनगर ।
लकडाउनको समयमा हातमुख जोर्न समस्या भएका व्यक्तिहरुले राहत नपाएको र दिईए पनि कमसल खाद्य सामाग्री दिएको गुनासो आएपछि अरनिको बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरुले टोल टोलमा पुगेर राहत सामाग्री वितरण गरेका छन् । अरनिको स्कुलका सन् १९९७ को ब्याचका विद्यार्थीहरुले पहिलो चरणमा ७५ परिवारलाई राहत वितरण गरेका हुन् ।
राहत नपाएको गुनासाहरु व्यापकरुपमा आउन थालेपछि देश विदेशमा रहेका साथीहरुसँग सहयोग मागी राहत वितरण गरिएको पूर्व विद्यार्थी मिरा आचार्यले जानकारी दिईन्। कमसल राहत बाँडेर राहत बाँडेको जस्तो गर्नेहरु पनि भेटिएपछि १५ सय रुपैँयामा राहत प्याकेज बनाई ५ जना सदस्य रहेको ७५ परिवारलाई १५ दिन खान पुग्नेगरी राहत वितरण गरिएको उनले बताईन् ।

उक्त पूर्व विद्यार्थीको समूहले पहिलो चरणमा विराटनगरको तेतरिया, पिचरा, कन्चनबारी, हाटखोला, सुनसरीको दुलारी लगायतका ठाउँमा राहत वितरण गरिएको जनाएको छ । आचार्यले आवश्यक परे अर्को चरणमा पनि राहत वितरण गरिने बताउँदै राहतको आवश्यकता भएका कर्मचारी, आफन्त, छिमेकी लगायत भाडामा बस्नेहरुलाई राहत वितरण गरिएको जानकारी दिईन् ।