चैत्र २८, २०७४ः नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपिजीको बैठकमा सहभागि हुन नेपाली टोली आज भारतको नयाँ दिल्ली जाँदैछ । भेखबहादुर थापा संयोजकत्वको टोली मध्यान्ह त्यसतर्फ जान लागेको हो ।
भोलि र पर्सी नयाँ दिल्लाीमा हुने ईपिजीको आठौँ बैठकमा हालसम्म भएका दुईपक्षिय सम्झौतालाई अन्तिम रुप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने बिषयको टुङ्गो लगाउने नेपाली टोलीको तयारी छ ।
ईपिजी प्रतिवेदन लेखनको अन्तिम चरणमा पुगेकाले सम्भवत अर्को पटक बस्ने नवौं बैठकले त्यसलाई टुङ्गयाउने ईपिजीका सदस्य राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणले दुई मुलुकबीच अझ बलियो विश्वासको वातावरण निर्माण भएकाले प्रतिवेदन तयार गर्न इपिजीलाई थप सहज भएको उनको भनाई छ ।
नेपाल भारतबीचका सबै खाले सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको म्याद आगामी असार २० गते सकिँदैछ । अन्तिम समयसीमा अगावै प्रतिवेदन दुवै मुलुकको सरकारलाई बुझाउने गरी गृहकार्य तीब्र भइरहेको भट्टराईले जानकारी दिए । दुवै मुलुकका प्रधानमन्त्रीले ईपीजीले दिने प्रतिवेदन स्वीकार गर्ने बताएपछि टोलीले मस्यौदालाई अन्तिम रूप दिन लागेको हो ।