४ असार, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ ।
नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युतको पोल बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ । विद्युतका तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत लाइन विस्तार गर्न लागेको छ । यो क्षेत्रमा पहिलोपटक विद्युत लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए ।
“खम्बाबाट खसेर मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ । घर परिवारलाई जानकारी दिइएको छ”, उनले भने, “के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।” लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो ।