२० असार, एजेन्सी ।
भारतको नागाल्यान्ड राज्यले कुकरको मासु कारोबार तथा आयातमा प्रतिबन्ध लगाएको छ। उक्त कदमलाई पशु अधिकारवादीहरूले स्वागत गरेका छन्।
पशु कल्याणको क्षेत्रमा कार्यरत समूहहरूले निरन्तर अभियान चलाएसँगै भारतको उत्तर(पूर्वी राज्य सरकारले त्यस्तो घोषणा गरेको हो। उक्त घोषणालाई त्यस्ता समूहले भारतमा कुकुरमाथि हुने क्रूरताको अन्त्य गर्ने प्रमुख विषयका रूपमा लिएका छन्।
तर केही नागरिक समाज समूहले भने खानपान प्रथामाथि आक्रमण भन्दै उक्त कदमको आलोचना गरेका छन्। भारतमा कुकुरको मासु खानु गैरकानुनी छ तर उत्तर–पूर्वी क्षेत्रमा भने यसलाई विशेष परिकारका रूपमा लिइन्छ। राज्य सरकारले कुकुरको मासु आयातमा रोक लगाउने निर्णय गरेको छ।
कुकुर बेचबिखन गरिने बजार र पकाइएको वा काँचो मासु दुवैको किनबेचमा रोक लगाइएको छ, नागाल्यान्डका मुख्य सचिव तेमजेन टोयले शुक्रवार ट्वीट गरे। राज्य सरकारको मन्त्रिपरिषद्ले गरेको यो विवेकपूर्ण निर्णयको म स्वागत गर्छु। सरकारले प्रतिबन्ध कसरी लागु गर्नेछ भन्ने विषयमा भने थप विवरण सार्वजनिक गरेको छैन।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एउटा बजारमा बोरामा कोचिएका कुकुरका तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि त्यसविरुद्ध आक्रोश फैलिएको थियो।
नागाल्यान्डमा गैरकानुनी रूपमा प्रत्येक वर्ष करिब ३०,००० कुकुरको तस्करी गरिने र ती जनावरलाई घरेलु कच्चा हतियारले हानेर मारिने गरेको द ह्युमेन सोसाइटी इन्टर्न्याश्नलले जनाएको छ। चीन, दक्षिण कोरिया र थाइल्यान्डमा पनि कुकुरको मासु खाने गरिन्छ।(बीबीसी)