दार्चुला : भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो सातादेखि घोडेटो बनाइरहेको छ । भारतले आफ्नोतिर ठूला चट्टान फुटालेर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्केपछि बन्दै गरेको घोडेटो कटानमा परिरहेको छ ।
भारतले महाकाली किनारैकिनारबाट धार्चुला–लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेको थियो । नेपाली सेनाले बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न थालेको स्थानीयले बताए । सेनाले घोडेटोको ट्रयाक खोलिरहेको ठीक पारिपट्टि भारतले पनि निर्माणलाई तीव्रता दिएको हो । ‘भारतले नियमित रूपमा विस्फोट गराएर चट्टान तोडिरहेको छ,’ व्यासका रवीन्द्र जोहारीले भने, ‘ठूला मेसिन प्रयोग गरेर ठूल्ठूला ढुंगा महाकालीमा फाल्दा पानीको सतह माथि उठेको छ ।’ ठूला ढुंगा खसाल्दा नदी साँघुरिएर बहावको तीव्रता बढेको छ । जसका कारण घाटीबगरमा सेनाले खोलेको ट्रयाकमध्ये ४५ मिटर बाटो बगाएको छ ।
भारतले सडक विस्तार गर्न दिनमा ४/५ पटक विस्फोट गराएर चट्टान खसालिरहेको छ । विस्फोट हुँदा साना ढुंगा र चोइटा उछिट्टिएर आउने हुनाले ज्यान जोगाउनसमेत मुस्किल भएको घाटीबगरमा काम गर्नेहरू बताउँछन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।