योगेन्द्र योगी
२६ असार, दोहा । कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७९ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको तेस्रो चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।
ओमनस्थित नेपाली दूतावासका अनुसार सो उडानमा १४६ पुरूष, ३३ महिला, २ नाबालक र १ तीन महिनाको शिशु स्वदेश फर्किएका हुन् । यसअघि सलाम एयरकै २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका थिए।
काठमाण्डौँका लागि जहाज उड्नुअघि यात्रुहरू तथा चालकदलका सदस्यहरूको कोरोना भाइरसको संक्रमण नभएको पिसिआर परीक्षणको रिपोर्ट रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।
स्वदेश फर्किने नेपालीहरुलाई विदाई गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल विमानस्थल पुगेकी थिइन् । उनले उड्न लागेको जहाजभित्रै चढेर विदाईको हात हल्लाउँदै सफल यात्राको शुभकामना दिएको दूतावासले जनाएको छ ।
सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा लिएको थियो।