२८ असार, काठमाडौँ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुने भएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)का अनुसार आगामी बुधबारदेखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुनेछ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकहरुको उद्धार गरिने छ ।
सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ ।
कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन हो । तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ ।
सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ ।
त्यस्तै विदेशी वायुसेवा कम्पनी अनतर्गत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।
यसअघि उद्धार उडानमा रहेका कतार र टर्किस एयर भने तेस्रो चरणको उद्धार उडानमा सामेल छैनन् । कतार र टर्किसले युरोप र अमेरिकामा अलपत्र परेका नेपालीलाई पहिलो र दोस्रो चरण चलेको एक महिना लामो उद्धार उडानका क्रममा नेपाल ल्याएका थिए ।
अहिले आन्तरिकतर्फ सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार चार्टर उडान भइरहेका छन् ।