४ साउन, एजेन्सी ।
साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । भारतीय मिडियाका अनुसार उनीहरू एक तेलेगु चलचित्रमा एकसाथ देखिन लागेका हुन् ।
यी दुई कलाकारलाई एकसाथ पर्दामा ल्याउने काम निर्देशक नाग अश्विनले गर्न लागेका हुन् । अश्विनले निर्देशन गरेको ‘महानती’ चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो । चलचित्र तेलेगुमा मात्र नभएर हिन्दी र तामिलमा पनि डब हुने बताइएको छ ।
साइन्स फिक्सन जनरमा निर्माण हुने यस चलचित्र को पृष्ठभूमि तेस्रो विश्वयुद्धको रहने छ । बुझिए अनुसार चलचित्रको नाम ’प्रभास २१’ रहने र चलचित्र निर्माण पक्षले आधिकारिक घोषणाको तयारी गरिरहेको छ । प्रभास र दीपिकाले पहिले पटक स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्र आउँदो वर्षको अप्रिलदेखि छायाङ्कनमा जानेछ ।
चलचित्र ‘बाहुवली र बाहुवली २’ रिलिज भएपछि भारतमा मात्र नभएर विश्व बजारमै प्रभाषको क्रेज चुलिएको छ । प्रभाषले अभिनय गरेको चलचित्र ‘साहो’ बक्स अफिसमा आशातित रुपमा नचलेपनि उनको क्रेज पनि निकै देखिएको थियो । दीपिका र प्रभाषको यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरिएको छ ।