७ वैशाख, विराटनगर ।विवेकशील साझा पार्टीले भद्र आन्दोलनको प्रतीक बनेको माइतीघर मण्डलालाई विरोध प्रदर्शन गर्न रोक लगाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
विवेकशील साझा पार्टीले शुक्रबार विज्ञप्ति निकालेर माइतीघर मण्डलालाई विरोध प्रदर्शन निषेधित क्षेत्र बनाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको हाे ।
पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाउनुले लोकतन्त्रप्रति सरकारको प्रतिवद्धतामा नै गम्भीर प्रश्न उठाएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको छ । यो निर्णयले रत्नपार्क, माइतीघरमा समेत विरोध प्रदर्शन गर्न रोक लागेको छ ।
विज्ञप्तिमा भनिएकाे छ, शान्तिपूर्णरुपमा गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी लगभग पुरै शहरलाई ‘निषेधित क्षेत्र’ बनाएको छ । ‘संविधानको धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको बिरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरीत छ’ उसले भनेको छ, यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित तुल्याएको छ ।’प्रधानमन्त्रीले राराबाट लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घण्टा नबित्दै आएको निर्णयले सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उसले बताएको छ ।