८ साउन, एजेन्सी । चीनले पहिलो पटक मंगल ग्रहमा आफ्नो यान पठाएको छ । चिनियाँ स१चारमाध्यमका अनुसार बिहीबार स्थानीय समयअनुसार १२ बजेर ४१ मिनेट जाँदा तियानवेन नामको उक्त यानले जमिन छोडेको हो। हैनान टापुमा लङमार्च-५ रकेटबाट गएको उक्त यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ ।
मंगल ग्रहमा पुगेपछि उक्त यानले त्यहाँको ९० दिन काम गर्ने बताइएको छ। मंगल ग्रहको दिन पृथ्वीको भन्दा लामो हुन्छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसका विज्ञ वाओ वेइमिनले गत जुनमा समाचार संस्था सिन्ह्वासँग भनेका थिए । यो प्रक्रियामा सबैभन्दा कठिन ल्यान्डिङको काम हो। चार स्टेपमा हुने ल्यान्डिङका लागि सातदेखि आठ मिनेटसम्म लाग्न सक्छ।
मंगल ग्रह जान हिँडेको चिनियाँ यानमा अर्विटर, ल्यान्डर र रोभर छन्। ल्यान्डर र रोभरले मंगल ग्रहको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछन्। त्यसपछि रोभरले मंगलको सतह, वायुमण्डल र त्यसमाथिको आइओनोस्फेयरको अध्ययन गर्नेछ।
ताइनवेनको अर्थ मण्डारिन भाषामा स्वर्गलाई प्रश्नहरू भन्ने हुन्छ। इस्वी सम्वतभन्दा ३४० वर्षअघि जन्मेका कवि क्यू युयानले आफ्नो कविताबाट चिनियाँ धर्म, आस्था र इतिहासलाई १७२ वटा प्रश्न सोधेका थिए। तिनै प्रश्नहरूबाट उत्प्रेरित भएर मंगल ग्रहमा जाने यानको नाम ‘स्वर्गलाई प्रश्नहरू’ राखिएको हो।
९ वर्षअघि चीनले रूससँग मिलेर यिन्गहोउ-१ यान मंगल ग्रहको अर्बिटका लागि पठाएको थियो। पछि उक्त यान प्राविधिक कारणले क्षति भएको थियो।
मंगल ग्रह सूर्यबाट चौथो टाढा रहेको ग्रह हो भने सौर्य मण्डलमा यो सबैभन्दा सानामध्ये दोस्रो ग्रह हो। पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह पनि यही हो।
नजिक भएकाले धेरै पहिलादेखि नै मानिसहरूमा यो रातो ग्रहबारे अनेक कल्पना र महत्वकांक्षा छन्। कतिले त मंगल ग्रहमा भविष्यमा बस्ती बसाउने सोच पनि राखेका छन्।
४ दिनअघि युएईले पनि मंगल ग्रहका लागि आफ्नो यान पठाएको छ। उक्त यान पनि फेब्रुअरीमै मंगल ग्रहको सतहमा पुग्ने अपेक्षा गरिएको छ। अरब मुलुकबाट मंगल ग्रहमा यान पठाउने युएई पहिलो मुलुक हो।