काठमाडौँ, ८ वैशाख ः सभामुख कृष्णबहादुर महराले नेपाल साधन, श्रम र सीपको दृष्टिकोणले धनी भएकाले समृद्धिका लागि अब ठिक ढंगले योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीको “नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु” नामक कृतिको आज यहाँ लोकापर्ण गर्दै उनले सो कुरा बताएका हुन् ।
मुलुक लामो राजनीतिक संक्रमणपछि विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउँदै सभामुख महराले समृद्धि हासिल गर्ने सन्दर्भमा राष्ट्रिय योजना बनाउन पुस्तक ज्यादै उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।
आयुक्त एवं लेखक डा जोशीले आठ वर्षको अवधिमा तयार गरिएको पुस्तकमा कृषि क्षेत्रका चुनौती, आर्थिक वृद्धिदर, रोजगारी तथा गरिबी निवारण र खाद्य सुरक्षा प्रवद्र्धन सम्बन्धी विषयबस्तु समेट्ने प्रयास गरेको जानकारी दिए ।
पुस्तकका समीक्षक एवं गरिबी निवारण कोषका उपाध्यक्ष यमबहादुर थापाले कृषिका आयामलाई एउटा उपन्यासका रुपमा तयार गरिएको पुस्तक कृषि क्षेत्रको गीताको रुपमा जीवन्त रहने धारणा व्यक्त गरे ।
अर्का समीक्षक डा माधव कार्कीले नेपालको ६२ वर्षको कृषि क्षेत्रका कथा र सूचना समेटिएको बौद्धिकसँगै व्यावहारिक दस्तावेजका रुपमा रहेको उक्त पुस्तकमा कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उपाय देखाइएको छ भने ।
समारोहमा डा सुशील पाण्डेले विभिन्न क्षेत्रमा काम गरेको अनुभवलाई डा जोशीले एउटै पुस्तकमार्फत प्रस्तुत गरेकाबाट नेपाल र नेपालको अर्थतन्त्र एवं कृषि क्षेत्रकोबारे जान्न खोज्नेलाई गतिलो खुराक मिलेका बताए ।
दिगो अनुन्धान तथा विकास केन्दबाट प्रकाशित ३७४ पृष्ठको उक्त पुस्तक चौंध खण्डमा विभाजन गरिएको छ । प्रथम पञ्च वर्षीयदेखि चौधांै योजनामा कृषि क्षेत्रका विकासका लागि अवलम्बन गरिएका नीतिगत तथा रणनीति, कार्यान्वयनको अवस्था, आर्थिक वृद्धिदर, कार्यक्रमका लक्ष्य तथा उपलब्धि, कार्यान्वयनमा देखिएका अवरोधको लेखाजोखा उक्त पुस्तकमा गरिएको छ ।
विभिन्न समयावधिमा नेपालको आर्थिक एवं कृषि क्षेत्रका उपक्षेत्रको वृद्धिदर, नेपालका मुख्य बालीको उत्पादकत्व र उत्पादन साधनको प्रयोगस्तर, चारदशकयता वन, सिँचाइ, कृषि र भूमिसुधारमा सरकारी स्रोत एवं वैदेशिक सहायता विनियोजनको वृद्धिजस्ता विषयमा पुस्तकमा सुक्ष्म विश्लेषण गरिएको छ ।
नेपालको जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्नसक्ने असर, कृषि अनुसन्धानको वर्तमान अवस्थाका साथै भूमि वितरण स्तरको कारणले खाद्य सुरक्षा र जीविकोपार्जनमा पर्नसक्ने असरहरुबारे पनि उल्लेख गरिएको छ ।
रासस