विराटनगर — रोजगारीको लागि मलेसिया गएका एक युवकको घरबाट गएको ३ महिनामै मृत्यु भएको छ ।
लमजुङकाे दूधपोखरी गाउँपालिका-१, दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे ।
दूधपोखरीस्थित बाघभैरब प्राविका शिक्षक इमानसिंह गुरुङका अनुसार उक्त घटना शुक्रबार साँझमात्रै थाहा भएको र शनिबार बिहानमात्रै परिवारलाई भनिएको थियो । उनका अनुसार कुमारसँगै ६ जना नेपाली कामदार बस्थे । उनीहरुले बताएअनुसार बिहान ड्युटीमा सँगै गएको र सञ्चो नभएको भनी कुमार बीचबाटोबाटै कोठामा फर्केका थिए ।
दिउँसो खाना खान आउने समयमा कुमार शौचालयमा मृत अवस्थामा भेटिएको उनीसँगै बसेका नेपाली कामदारले बताएको शिक्षक गुरुङले बताए ।
कमाउन विदेश गएका छोराको निधनपछि उनका बुवाआमासँगै स्थानीय शोकमा डुबेको स्थानीय कुमारी गुरुङले बताइन् ।