विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योलता

२३ साउन, काठमाडौं । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना सुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ ।

Advertisement

सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना सुरु गर्ने र त्यसको करिब दुई हप्तापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो ।

सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको थियो तर पछिल्ला दिनमा जोखिम बढेकाले अन्योल उत्पन्न भएको हो । अहिले यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै निर्णय गर्न नसक्ने स्थिति पैदा भएको छ । विद्यार्थी भर्ना गर्दा विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थी भेला हुँदा पनि जोखिम हुनसक्छ ।

Advertisement

विद्यालय सञ्चालनको अधिकार पालिकाको भए पनि विपद् जोखिमको स्थिति भएकाले ती तहले पनि केन्द्र सरकारको मार्गदर्शन पर्खिरहेका छन् । जोखिम कम भएका ठाउँमा सम्बन्धित तह र विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आवश्यक सुरक्षा विधि अपनाएर विद्यालय खोलाउन सकिने भए पनि हतार गरिहाल्न नहुनेमा अभिभावक छन् ।

हरेक वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुनुपर्नेमा अहिले वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भएको छ भने त्यसलाई औपचारिकता दिइ शैक्षिकसत्र गणना दिनेबारे कुनै निर्णय गरिएको छैन । गएको चैत ५ गते पनि शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालनको सबै तयारी पूरा गरेका बेला कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले परीक्षालगायत सबै शिक्षालय बन्दको निर्णय गरेको थियो ।

Advertisement

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कार्यविधिको तयारी भए पनि विद्यालय कहिलेदेखि पुनः सञ्चालन गर्ने भन्नेबारेमा हालसम्म तय भएको बताउँदै विपद्जन्य स्थिति भएकाले शिक्षाका निकायले मात्रै निर्णय गर्ने स्थिति नरहेको जनाउनुभयो । विद्यार्थी भर्ना नभएसम्म विद्यालयमा विद्यार्थीका आकलन नहुने, शिक्षक व्यवस्थापन गर्न असहज हुने र शैक्षिक तथ्याङ्क सङ्कलनमा बाधा हुने अन्योल पनि कायमै छ ।

मन्त्रालयले गत साता कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्नेबारे जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि तयारी रहन आग्रह गरेको थियो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले विद्यालय पुनः सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने र परीक्षा सञ्चालन नहुने स्थितिमा यसअघि उठाइएका परीक्षा शुल्क फिर्ता हुनुपर्ने बताउनुभयो ।

महासङ्घले विद्यालय खोल्नुपूर्व अभिभावकको परामर्शमा अहिले विद्यालयमा स्थापना गरिएका क्वरेण्टीन र आइसोलेशन कक्ष निर्मलीकरण गर्ने, विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनोसामाजिक सत्र सञ्चालन गर्ने, विद्यालयमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचार कक्ष स्थापनासमेत गराउन सुझाव दिएको छ ।

ती सबै कार्य भएको एक हप्तापछि मात्रै विद्यालय खोल्न सुझाव दिइएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले पढाइ सुनिश्चित नभएसम्म विद्यार्थी भर्नामा नआउने भएकाले सरकारले निजी विद्यालयका लागि अनलाइन शिक्षावापत् न्यूनतम् शुल्क र शिक्षकको तलब व्यवस्थापनबारे सहजीकरण गरिदिएमा उचित हुने बताएका छन् ।

शिक्षा मन्त्रालयले रेडियो, एफ रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन गएको जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top