११ वैशाख, विराटनगर ः फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो प्रहरीले धरानमा एक राउण्ड गोली चलाएको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले गाेली चलाएर पक्राउ गरेकाे हो ।
पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय कुम्वे राई छन् । पक्राउका लागि राईलार्इ लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए ।यसअघि सोमबार साँझ पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई गरिएकाे छुरा प्रहारमा कुम्वेको समूहकाे संलग्नता रहेकाे थियाे ।
खड्कालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ ।
घटनामा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ परेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।
सामान्य रिसिबीका क्रममा उनीहरुले दुई जनालाई छुरा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।