महिला स्वास्थ्यकर्मी कुट्ने दुईजना पक्राउ

महिला स्वास्थ्यकर्मी कुट्ने दुईजना पक्राउ

२७ साउन, बैतडी ।
बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले सोमबार अपराह्‍न नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकीअन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी विमला कुँवरमाथि कुटपिट गरेको आरोप छ ।

ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले भने, “नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान हुन्छ, आवश्यक देखिए मुद्दा चलाउँछौँ ।”

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आइतबार आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन् । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उनले बताइन् ।

उनले भनिन्, “वृद्धा आमा कान नसुन्‍ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गाली(गलौज गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट छ ।

अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवैजनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ । यसैबीच स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुर्व्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए ।

उनले भने, “स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ ।” (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.