त्रिविका सबै विषय र संकायको परीक्षा स्थगित

त्रिविका सबै विषय र संकायको परीक्षा स्थगित

३१ साउन, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ ।

अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए । परीक्षा हुन नसके पनि माथिल्लो तह र सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन थाल्न त्रिविले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ ।

क्याम्पस विभागहरूले माथिल्लो तहको पठनपाठन गराउन विद्यार्थीलाई सूचित गर्न थालेका छन् । ‘अहिलेलाई परीक्षा सञ्चालन गर्न सम्भव देखिएन,’ उनले भने, ‘परीक्षा नभए पनि उपल्लो तहको पठनपाठन गर्न भनेका छौं ।’ पहिलो सेमेस्टर वा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको कोर्स पूरा भएर परीक्षा हुन नसकेको भए पनि दोस्रो वर्ष वा सेमेस्टरको कक्षा सञ्चालन गर्न भनिएको छ ।

वैकल्पिक कक्षाका लागि त्रिविले अध्यापक र विद्यार्थीलाई इमेल आईडी वितरण गरिरहेको छ । करिब ५ लाख आईडी बाँड्ने लक्ष्य त्रिविको छ । विज्ञहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सुझाव दिए पनि डिन कार्यालयहरूले हाललाई स्थगित गरेर भए पनि परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

त्रिविले डिन कार्यालयहरूलाई परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । दसैंतिहारसम्म अनलाइन कक्षा सञ्चालन गर्ने र त्यसपछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसअघि सबै तह र संकायको बाँकी नतिजा प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न पदाधिकारीले चासो नदिएको त्रिविकै विद्यार्थी पवनकुमार आचार्य गुनासो गर्छन् । त्रिविमा पाँच अध्ययन संस्थान र चार संकायमा पठनपाठन हुने गर्छ । चैत पहिलो सातापछि पढाइ प्रभावित छ भने तोकिएका परीक्षाहरू पनि भएका छैनन् । साउन ७ देखि लकडाउन खुलेपछि अधिकांश संस्थान र डिन कार्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.