नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना

नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना

३२ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा काम गर्ने सबै कर्मचारीको टेस्ट गर्दा दुई जनालाई कोरोना पुष्टि भएको कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

उनका अनुसार दुई जनाको टेस्टको नतिजा आउन बाँकी छ भने अन्य कर्मचारीको भने नेगेटिभ नतिजा आएको छ ।

सातदोबाटोमै रहेको स्क्वास एकेडेमीमा बस्ने प्रशिक्षक हिरा थापालाई कोरोना लागेको पुष्टि भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोनाको टेस्ट गराएको थियो ।

कोरोना लागेका दुवै जना कमिटीको सातदोबाटोको भवनमै आइसोलेसनमा बस्ने श्रेष्ठले बताए ।

कोरोनाका कारण ओलम्पिक कमिटीको कार्यालय गत सातादेखि बन्द छ । कमिटीले अझै केहि साता कार्यालय बन्द गर्ने जनाएको छ ।

यस्तै सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि कार्यालय बन्द गरेको थियो ।

सातदोबाटोकै कराते एकेडेमीमा ओलम्पिक छनोटको तयारी पनि स्थगित भइसकेको छ ।

नेपाली खेलकुद क्षेत्रमा योसँगै पाँचौ कोरोनाको केस हो। यसअघि क्रिकेटर पवन दास र स्क्वास प्रशिक्षक हिरा थापा कोरोनाबाट संक्रमित भएका थिए।

यस्तै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा पनि कोरोना लागेको पुष्टि भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.