३२ साउन, काठमाडौँ ।
पछिल्लो समय अभिनेता पल शाह निकै व्यस्त छन् । चलचित्र अनि म्युजिक भिडियोबाट चर्चित अनि सफल अभिनेता बेलाबेलामा चर्चामा आइरहन्छन् । पल लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । तर, फेरि देशभर कोरोना संक्रमितको संख्या बढेपछि पलले सम्पूर्ण म्यूजिक भिडियो छायांकनको काम रोकेका छन् ।
बेलाबेला आफूले भोगेका र बेतिथिप्रति असन्तुष्टि सामाजिक सञ्जालमा पोख्दै आएका पलले आफ्नो पछाडि बसेर कुरा काट्नेमाथि आक्रोश पोखेका छन् । पलले आफ्नो कुरा काट्दै हिड्नेलाई त्यसो नगर्न नत्र शान्त समुन्द्र निर्मम बन्यो भने सुनामीको रुप लिने भन्दै घुमाउरो शैलीमा चेतावनी पनि दिएका छन् ।
घुमाउरो भाषामा पल लेख्छन्–‘अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरासँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीका लागि अरुलाई प्रहार गरिरहन्छन् । फलस्वरुप समुन्द्रले भयंकर सुनामीको रुप लिन्छ ।’
पल अगाडि लेख्छन्–‘सुनामी निर्मम बनेर विध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालिन छ भनेर कुनै मानिसमाथि एकहोरो प्रहार नगर्नुहोस् । भित्ताको त कान हुन्छ भन्छन्, आफू महाना देखिन अरुको कुरा काट्दै नहिड्नुहोस् । किनकी, तपाइको आँखालाई प्रदुषित तलाउ देखे पनि वास्तवमा त्यो तपाइलाई निमेष भरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाइको हौसियत संझाउने मात्र होइन विर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।’