२ भदौ, एजेन्सी।
बलिउड नायक आमिर खानले टर्कीका राष्ट्रपति रजप तैयप एर्दवानकी श्रीमती एमिल एर्दवानलाई भेटेपछि भारतमा सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । राजनीतिक रूपमा दुई देशबिच सम्बन्धमा तिक्तता आएका बेला मुस्लिम बाहुल्य राष्ट्रकी प्रथम महिलासँग भेटेपछि भारतका ट्विटर प्रयोगकर्ता मात्र नभएर वीजेपीका नेताहरुले आमिरको आलोचना गरेका हुन् ।
टर्कीले जम्बू काश्मीरको धारा ३७० खारेज गर्ने निर्णयको विरोध गरेको थियो जसको कारण यी दुई देशको सम्बन्ध राम्रो छैन । राष्ट्रपति पत्नी एमिनले आमिरसँग भेटेको तस्बिर १५ अगस्टमा ट्विटर मार्फत सार्वजनिक गरेकी थिइन् ।
आमिर चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकनका लागि टर्की पुगेका थिए । सोही समयमा उनले एमिलसँग भेट गरेका हुन् । धेरैले आमिरको यो भेटलाई भारत विरोधी भनिरहेका छन् । तर, कतिपयले भने आमिरको समर्थन पनि गरेका छन् ।
टर्कीका राष्ट्रपति रजप तैयपले निरन्तर भारत विरोधी बयान दिइरहेको आरोप विजेपीका नेताहरुको छ । कश्मिरको मुद्दामा पनि उनले खुलेरै भारतको विरोध गरेका थिए ।
केही समय अगाडि आमिरले आफूलाई भारतमा बस्न डर लाग्न थालेको भन्दै टिप्पणी गरेका थिए । सो समयमा पनि उनको चर्को आलोचना भएको थियो ।
बीएचपीका प्रवक्ता विनोद बंसलले केही कलाकारहरुलाई भारत विरोधीहरुसँग प्रेम बढ्न थालेको भन्दै टिप्पणी गरेका छन् । यो बिषयमा आमिरले कुनै पनि जवाफ दिएका छैनन् ।