३ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुईजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगञ्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।
विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो ।
नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।