४ भदौ, काठमाडौँ ।
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच विवाद समाधान भएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविच विवाद समाधानका लागि सहमती भएको हो । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दुबै पक्षलाई राखेर सहमती गरिएको बताए ।
सुवेदीले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको हो ।
त्यस्तै सुवेदीले अब कार्यक्रम संचालन गर्दा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र सचेत रहने सहमतीमा उल्लेख छ ।
संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै पूजा शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् ।
यसबारे सुवेदीले पूजासँग कार्यक्रमबाट माफी मागेका थिए । तर, पूजाले भने माफी चित्त नवुझेको बताएकी थिइन् । सुवेदीले अब आगामी दिनमा कार्यक्रममा नेपाली चलचित्र र कलाकारलाई होच्याउने खालका शब्द प्रयोग नगर्नेमा आफूहरु आशावादी रहेको कलाकार संघका अध्यक्ष खड्काले बताए ।