सुदूरपश्चिमका एक स्थानीय तह र तीन जिल्लामा निषेधाज्ञा जारी

सुदूरपश्चिमका एक स्थानीय तह र तीन जिल्लामा निषेधाज्ञा जारी

५ भदौ, कैलाली । सुदूरपश्चिमका एक स्थानीय तह र तीन वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको एक स्थानीयतहमा कोभिड(१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको हो।

कैलालीमा बिहीबार रातिदेखि लागू हुने गरी भदौ १४ गते रातिसम्मका लागि निशेधाज्ञा जारी भएको छ । जिल्ला प्रशाशन कार्यालयले निषेधाज्ञा कडाइ साथ लागू गर्ने बताएको छ ।

निषेधाज्ञा जारी भएपछि अत्वाश्यकबाहेकका गतिविधि बन्द गर्न प्रशासनले आदेश जारी गरेको जिल्ला प्रशाशन कार्यालयले बताएको छ ।

यो अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।

बैंकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका साधन, भन्सारबाट जाँचपास भई आएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ।

कञ्चनपुरमा पनि बिहीबार राति १२ देखि भदौ १४ गते रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यस्तै, डडेल्धुरा जिल्लामा पनि आंशिक निषेधाज्ञा सुरू हुने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि लागू हुने गरी एक साता आंशिक निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

जिल्लामा अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरणबाहेक अन्य पसल दिनमा दुई सिफ्टमा बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने भनिएको छ। निजी सवारी साधनको हकमा जोर–बिजोर प्रणाली लागू गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

यस्तै, बैतडीको एक स्थानीय तहमा पनि निषेधाज्ञा लागू हुने भएको छ। बैतडीको दशरथचन्द नगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यहाँ पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधी पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न पाइने छ। यस्तै नगर क्षेत्रभित्रका बैंक हप्ताको तीनदिन खुल्ने, दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसल बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजेसम्म मात्रै खुल्ला राखिने नगरपालिकाले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.