ईश्वर पोखरेलले भने- ‘मेरो नातेदारले सम्बन्धको दुरुपयोग गरेका छैनन्’

ईश्वर पोखरेलले भने- ‘मेरो नातेदारले सम्बन्धको दुरुपयोग गरेका छैनन्’

१० भदौ, काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन् । आफ्नो नाता सम्बन्धका व्यक्तिले लाभको पद लिएर कानुनी व्यवस्थाको उल्लंघन नगरेको उनको दाबी छ।

बुधबार फेसबुकमा एक सूचना राखी मन्त्री पोखरेलले त्यस्ता समाचारमा सत्यता नभएको दाबी गरेका हुन्। उनले भनेका छन् – ‘ केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन्। ती समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निणर्य प्रक्रियाका आधारमा मात्रै भएका छन् ।’

पोखरेलले सबै काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निणर्यका आधारमा भएको दाबीसमेत गरेका छन्। कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताएका छन् । उनले थप भनेका छन् ‘अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु। मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु।’

मन्त्री पोखरेलले राजाको शासनमा घरको पानी ट्यांकीमा पैसा राखेको कुप्रचार भएको सम्झना गर्दै शाही शासनका मतियारहरु नयाँ ढंगले आफू विरुद्ध उरालिएको भन्दै आपत्ति प्रकट गरेका छन्। अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो ।पोखरेलले सूचनामार्फत यसै विषयमा आफ्नो प्रष्टीकरण दिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.