नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ ः मन्त्री यादव

नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ ः मन्त्री यादव

चितवन १५ वैशाख ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताए । मन्त्री यादवले भने, “जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरुको रिपोट तयार गर्दैछौं ।”

उनले थपे, “जतिले चलाएको छ उनीहरुलाई सहयोग गर्छौ जसले चलाएको छैन तिनीहरुको बारेमा ठोस् निर्णय गर्छौ त्यो राष्ट्रियकरण हो ।” सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै उनले भने, “साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने ।”

विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उनले भने, “त्यसलाई विकास गर्ने, चलाउने भन्दा पनि बेचेर खाने गरियो, नेतालाई पनि कमिसन आउँछ मिहेनत नै गर्नुपर्दैन, बेचेपछि कमिसन आइहाल्छ ।” खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै उनले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गरे ।

उनँले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालांै भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताए ।

सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने उनले बताए । निकट भविष्यमै फलामको उद्योग शुरु गर्ने भन्दै उनले अन्य उद्योग क्रमश थप्दै लगिने बताए । अर्काे एक प्रसंगमा जनताको जनादेश पार्टी एकता भएकाले नेकपा एमाले र माओवादी बीचको एकता आवश्यक रहेको धारणा राखे ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.