१२ भदौ, काठमाडौँ ।
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले लेखेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । यसै गीतको भिडियोमार्फत उनी पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।
राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्दादन गरेका छन् ।
गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित रहेको जनाईएको छ । प्राय गीतहरु राष्ट्रभक्तिमा आधारित छन् भने त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।
गौतमको नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिएका थिए । तर, उनको गीत छनोटमा परेन । गीत लेखन आफ्नो पहिल्यैदेखिको रुचि रहेको गौतम बताउँछन् ।