नितेश यादव
१२ भदौ, जनकपुरधाम ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।
शुक्रबार ४ जना पुरुष र १ जना महिला गरी कुल ५ जनाको मृत्यु भएको हो । प्रदेश २ का वीरगन्जस्थित नारायणी अस्पताल अन्तर्गतको कोभिड १९ अस्पतालको प्रयोगशाला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुर र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूको मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन विजयकुमार झाले जानकारी दिए ।
प्रदेश २ को महोत्तरीमा सबैभन्दा बढी तीन जनाको मृत्यु भएको छ । त्यस्तै, सिरहा र बारामा १/१ जनाको मृत्यु भएको हो । महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ का ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय एक बृद्ध र भङ्गहा नगरपालिका २ सिङ्गयाहीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु झाले बताए ।
यस्तै, सिरहाको लहान नगरपालिका ९ का ६५ वर्षीया एक महिला र बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का ७७ वर्षीय एक बृद्धको संक्रमणबाट मृत्यु भएको झाको भनाइ छ ।
त्यसैगरी, अहिलेसम्म प्रदेश २ को पर्सा सबैभन्दा बढी ३० जना, बारामा १३ जना, धनुषामा १२ जना, सप्तरी र सिरहामा ५/५ जना, महोत्तरीमा ६ जना, सर्लाहीमा र रौतहटमा ३/३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।