नेपाली युवा ५५ दिनदेखि साउदीको सडकमा, दूतावासले मुख फर्कायो

१३ भदौ, दोहा ।
योगेन्द्र योगी
वैदेशिक रोजगारकालागि विगत ७ महिना अघि साउदी अरब पुगेका एक नेपाली अलपत्र परेका छन् । काठमाडौँस्थित साईनिङ्ग स्टार म्यानपावर मार्फत साउदीको अलमल्की कम्पनीमा पुगेका स्याङ्जा पुतलीबजार नगरपालिकाका अनिल मिया अलपत्र परेका हुन् ।

Advertisement

नेपालबाट एजेन्टले कम्पनीमा भनेर पठाएको र साउदी पुगेपछि सप्लाई कम्पनीमा काम लगाएको तथा काम गर्ने ८ घण्टा भनेकोमा १० घण्टा काम गर्न लगाएको पिडित मियाले बताएका छन । ड्राइभर भनेर पठाए पनि यहाँ आएपछि ड्राइभर र लेवरको काम गर्नु परेको उनको भनाइ छ । म्यानपावर कम्पनीले १८ सय साउदी रियाल कमाई हुने भनेर उनीबाट १ लाख ४० हजार रूपैँया लिएको पिडित मियाले बताए । तर, यहाँ आएपछि भने अनुसार तलव नपाएको र कम्पनीले २ महिना ११ दिन काम गरेको तलब समेत नदिएको पिडितले बताए । सम्झौता अनुसारको तलब सुबिधा नदिने भए काम नगर्ने भनेपछि सम्बन्धित कम्पनीले आफ्नो कोठाबाट निकालेपछि उनी अहिले सडकमा रात बिताईरहेका छन् ।

५० डिग्रीभन्दा माथि तापक्रममा आफू सडकमा नै बस्न बाध्य भएको उनले बताए । कम्पनीले आधा घण्टाभित्रै कोठा छोडेर जान भनेपछि आफू कोठाबाट निस्किएको उनले बताएका छन् । कम्पनीका मेनेजरलाई जानकारी गराएर नेपालमा सम्झौता गरिए अनुसार सेवा सुविधा नपाएको भन्दै केही राहत हुने हेतुले साउदीस्थित नेपाली दूतावास पुगेका पिडितलाई दूतावासले पनि हामी केही गर्न सक्दैनाैँ एजेन्टलाई भन्नु भन्दै आफ्नो कुरा नसुनेको उनले बताएका छन् । नेपालमा एजेन्टलाई कुरा गर्दा आज गर्छु भोली गर्छु भन्दै यतिका महिना बितिसक्दा पनि अहिलेसम्म केही नगरेको उनले बताए ।

Advertisement

एजेन्ट र दूतावासले पनि बेवास्ता गरेको कारण विगत ५५ दिनदेखि उद्दारको पर्खाइमा साउदीको सडकमा रातदिन बिताईरहेका छन् । यता, उनलाई पठाउने म्यानपावरका प्रतिनिधिलाई सम्पर्क गर्दा उनले लगाएको आरोप कुनै सत्यता नभएको भन्दै मियाले आफू खुशी कम्पनीमा काम गर्दागर्दै गाडी सडकमै छोडेर भागेको बताएका छन् । उनी अहिले कम्पनी छोडेर बाहिर सडकमा बसेको बारे म्यानपावर कम्पनी जानकार रहेको र उनलाई अझै पनि कम्पनीमा काम गर्न गए कम्पनीले काम दिने तथा नगएमा नेपाली दूतावाससँग समन्वय गरी ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्काउन पहल गरिने म्यानपावर प्रतिनिधिले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top