२० भदौ, झापा ।
झापाको स्थानीय एक सडकमा मृत भेटिएका २९ बर्षीय गोमन सिंह मगरको हत्या भएको खुलेको छ । झापाको शिवसताक्षी नगरपालिका ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्ड किनारमा मृत अवस्थामा फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टि भएको हो ।
यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९ बर्षीय मगर मृत अस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको प्रहरकिो संयुक्त टोलीले मगरको हत्या गरी फरार रहेका शिवसताक्षी ८ का ३२ बर्षीय मनकुमार लिम्बु लाई शनिबार पक्राउ गरेको छ । लिम्बुले १६ गते साझँ साढे ६ बजे गोमन सिंहलाई घुम्न जाउँ भनि घरबाट बोलाएका थिए ।
साथीले बोलाए पछि मोटरसाईकलमा आएका गोमन सिंहलाई सताक्षीधाम मन्दिर तर्फ हावा खान जाम भनि उनी सोही मोटरसाइकल पछाडी बसी घटनास्थल तर्फ लिएर गएका थिए । मोटरसाइकल पछाडी बसेकै बेला लिम्बुले पछाडीबाट गोमन सिंहलाई धारिलो हतियार कर्दले पटक-पटक घाँटीमा रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लिम्बुले हत्यामा प्रयोग गरेको कर्द र उनले बोकेको मोबाइल समेत बरामद गरिएको छ । निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबले हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।