तेह्रथुम, १८ वैशाख ः तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ ।
जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ ।
ग्रामीण खानेपानी तथा कोष विकास समिति फनबोर्डको सहयोगमा देउराली सोसाइटीको सहजीकरणमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत चापाबोटे पँधेरे लिफ्टिङ खानेपानी तथा सरसफाइ समितिले निर्माण गरिरहेको छ ।
योजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब पानी वितरणको तयारी भइरहेको देउराली सोसाइटीका सामाजिक परिचालक सन्जु तुम्बाहाम्फेले बताइन् ।
तत्कालीन जलजले गाविसको रु पाँच लाख, फनबोर्डको ५० लाख र स्थानीयवासीको नगद तथा श्रमदान रु १७ लाख गरी कूल रु ७३ लाखको लगानीमा निर्माण भएको योजनाबाट पानी जडान भएपछि जलजलेका १०२ घरधुरीका ६५४ जनाले स्वच्छ पिउने पानीको सेवा प्राप्त गर्नेछन् ।लिफ्ट गरिएको पानी तानेर जम्मा गर्नका लागि गाउँको सिरानमा १६ घन मिटरको ट्यांकी निर्माण गरिएको छ भने मुहान नजिकै आठ÷आठ घनमिटरका ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।
रासस