जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
ओली र मोदीले सँगै पूजा गर्ने
मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनायो । उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ ।
पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ । तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइ छ ।
जानकी मन्दिरले दुवै प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने
भारतीय प्रधानमन्त्री मोदी र उनलाई स्वागत गर्न आउने प्रधानमन्त्री ओलीलाई जानकी मन्दिरले भव्य स्वागत गर्ने भएको छ । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले दुवै देशका प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्री एकैसाथ जानकी मन्दिरमा आउनु ऐतिहासिक क्षण हो, त्यसलाई विशेष बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।’