भोको पेटसामु पुष्पवृष्टि

खुलामञ्‍च : संयोग यस्तो जुर्‍यो कि देवीप्रसाद सिवाकोटीसँगै पर्खिएर बसिरहेकाहरूका लागि भनेर खाना बोकेको ‘हाम्रो टिम नेपाल’ को गाडी खुलामञ्चमा र गाँस–बासलाई मौलिक हकमा राखिएको संविधानको छैटौं वार्षिकोत्सव मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी सैनिक मञ्चमा सँगसँगै छिरे ।

Advertisement

यता गाँसका लागि आँखा बिछ्याएकाहरू लस्करै बस्दा उता सैनिक मञ्चमा बजेको सलामीको धुन गुन्जियो । सेनाको कलाकौशलसहितको धुनले भनिरहेको थियो, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’

त्यसको केहीबेरमा संविधान दिवसको ब्यानर बोकेर फन्का मारेको हेलिकप्टरले सिवाकोटीजस्तै खानाका लागि खुलामञ्चमा भेला भएकाहरूको ध्यान खिच्यो । नजिकै बजिरहेका गाडीका हर्नसमेत फिक्का सुनिने गरी हेलिकप्टरको आवाज आयो । उनले निधारमा हातको छेको पारेर उडिरहेको हेलिकप्टरतिरै हेरे र झुन्डिएको ब्यानरका अक्षरमा आँखा दौडाए ।

Advertisement

०००

‘त्यहाँ लेखेको अक्षर पढ्न सक्नुभयो ?’

Advertisement

‘किन नसक्नु त्यति ठूला अक्षर छन्,’ हाम्रो प्रश्नमा उनले भने, ‘संविधान दिवस २०७७ ।’

उनले थपे, ‘संविधान बनाउनेको मन पो सानो छ त !’

संविधान दिवस सम्झाउन ब्यानर र पुष्पवृष्टि गर्न फूलका थुँगाहरू बोकेर उडेका हेलिकप्टर टुँडिखेलको आकाशबाट बिस्तारै ओझेल पर्दै गए, दुई दिनअघिबाट मात्रै चल्न थालेका गाडीका हर्न फेरि बज्न थाले । दोलखा सिंगटीका ६० वर्षीय सिवाकोटीको मन भने विगतको सम्झनाले बेस्सरी हुँडल्यो ।

त्यसपछि हामीले उनलाई केही सोध्नै परेन, पुराना स्मृतिमा खुरुरु दौडिए । २०४६ सालमा काठमाडौं छिरेका उनलाई त्यो बेलाको आन्दोलन हल्काफुल्का याद छ । तर २०६२/६३ को जनआन्दोलनमा भने उनी जमेरै लागे । पुतलीसडक र बागबजारमा धेरै पटक प्रहरीसँग जम्काभेट भयो । उनले बारम्बार आन्दोलनको भीडमा बर्सिएको इँटाको प्रहार सहँदै गणतन्त्रका लागि नारा लगाएका हुन् त्यतिखेर । उनी आन्दोलनमा होमिनुको मुख्य उद्देश्य गरिब र धनीबीचको खाल्डो पुर्नु थियो ।

२०७२ को संविधान जारी हुने बेलामा पनि सिवाकोटी खुब हौसिए । उनलाई आफूजस्तै मजदुरहरू सडकमा उत्रिएकै कारण गणतन्त्र आएको आभास भइरहन्थ्यो । परिवर्तित व्यवस्थाप्रति उनको अपनत्व थियो । त्यसैले त्यो दिन पनि उनले उत्सव मनाए । ‘गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुरलाई अझ धेरै फाइदा हुन्छ भनेकाले आन्दोलनमा गएको थिएँ,’ उनले भने, ‘अहिले त झन् बाटोमा आएर भात माग्नुपर्ने अवस्था आयो ।’ उनलाई संविधानले प्रत्याभूत गरेका अधिकारबारे सबै कुरा थाहा रहेछ तर संविधानमै लेखिएको कुरा पनि पूरा नभएकामा दुःखमनाउ गरे ।, याे समाचार  कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top